२६ पुस। तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्ष २०८२र०८३ को प्रथम छ महिनासम्मको आय–व्ययको अवस्था सार्वजनिक गर्दै कुल १ अर्ब ८१ करोड ७६ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।

शुक्रबार सम्पन्न नगरपालिकाको ४४ औँ नगरसभामा उपप्रमुख इन्दिरा दरै ले बजेट तथा आय–व्ययको विवरण प्रस्तुत गर्नुभएको हो।

उहाँका अनुसार चालु आर्थिक वर्षको पुस २० गतेसम्म नगरपालिकाको यथार्थ आय ६९ करोड १० लाख ४७ हजार ५९९ रुपैयाँ पुगेको छ। यसमध्ये आन्तरिक स्रोतबाट ६ करोड १० लाख ४७ हजार ३०५ रुपैयाँ संकलन भएको छ भने आन्तरिक स्रोततर्फ वार्षिक २० करोड रुपैयाँ आम्दानीको लक्ष्य राखिएको छ। यस्तै बाह्य तथा अन्य स्रोतबाट १ अर्ब ६१ करोड ७६ लाख १९ हजार रुपैयाँ आम्दानीको अनुमान गरिएकामा हालसम्म ६३ करोड ८२ लाख ५० हजार २९४ रुपैयाँ प्राप्त भएको जानकारी दिइयो।

व्ययतर्फ चालु आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ७६ लाख १९ हजार रुपैयाँ खर्चको अनुमान गरिएको छ। यसमध्ये चालु खर्चतर्फ ९८ करोड ३७ लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएकामा पुस २० गतेसम्म ३४ करोड २७ लाख ४५ हजार ५७ रुपैयाँ खर्च भएको छ।

त्यसैगरी पूँजीगत खर्चतर्फ ८३ करोड ३८ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएकामा हालसम्म ६ करोड ८८ लाख १५ हजार ५१५ रुपैयाँ खर्च भएको छ। चालु र पूँजीगत दुवै शीर्षक गरी पुस २० गतेसम्म ४१ करोड १५ लाख ६० हजार ५७२ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ।

नगरसभामा गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय अवस्थाबारे पनि जानकारी गराइएको थियो। सो वर्ष २ अर्ब १० करोड ६५ लाख ४३ हजार रुपैयाँ संशोधित आयको अनुमान गरिएकामा १ अर्ब २९ करोड ६६ लाख २७ हजार ४२७ रुपैयाँ वास्तविक आय भएको थियो।

त्यस्तै, गत आर्थिक वर्षमा २ अर्ब १० करोड ६५ लाख ४३ हजार रुपैयाँ संशोधित व्यय अनुमान गरिएकामा १ अर्ब २५ करोड ७ लाख ७१ हजार ८१७ रुपैयाँ यथार्थ खर्च भएको विवरण नगरसभामा प्रस्तुत गरिएको थियो।

नगरपालिकाले सार्वजनिक गरेको यस आय–व्यय विवरणले चालु आर्थिक वर्षको वित्तीय प्रगति, राजस्व संकलन तथा विकास खर्चको अवस्थाबारे नगरसभालाई जानकारी गराएको छ।