तनहुँ । भानु नगरपालिका–११, मानेचौकास्थित मानेचौका आमा समूहले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु. २५ हजार ७२५ सहयोग गर्ने निर्णय गरेको छ।
समूहले यस वर्ष आयोजना गर्ने तीज कार्यक्रमलाई केही कटौती गरी बचत भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो।
विपद्को कठिन समयमा उत्सव तथा मनोरञ्जनभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिँदै समूहले गरेको उक्त निर्णयले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको सकारात्मक सन्देश दिएको छ।
बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले तीज कार्यक्रमको खर्च कटौती गरी सहयोग गर्ने निर्णय गरिएको समूहले जनाएको छ।
मानेचौका आमा समूहको यो पहलले ‘दुःखको समयमा उत्सवभन्दा सहयोग ठूलो’ भन्ने भावनालाई आत्मसात् गर्दै विपद्मा एकजुट हुनुपर्ने सन्देश दिएको छ।














