तनहुँ । देशका विभिन्न जिल्लामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि तनहुँ सौन्दर्य व्यवसायी संघ नेपालले राहत तथा उद्धार कार्यमा सहयोग गरेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा बाढीबाट प्रभावित नागरिकको राहतका लागि संघले रु. ६० हजार १०५ आर्थिक सहयोग गरेको हो।

संघका अध्यक्ष विष्णु माया थापा र सचिव आरती गुरुङद्वारा जारी विज्ञप्तिमा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विपद्को यस कठिन घडीमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै संघले मानवीय सेवाभावका साथ राहत तथा उद्धार अभियानमा सहयोग गर्न सम्पूर्ण नागरिकमा अपिल गरेको छ।

संघले गरेको आर्थिक सहयोगले बाढीबाट प्रभावित परिवारको तत्कालीन राहतमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।