तनहुँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सत्यवती माध्यमिक विद्यालयका विद्यार्थीहरूले रु. ८४ हजार ९८० आर्थिक सहयोग गरेका छन्।

जुनियर/युवा रेडक्रस सर्कल, सत्यवती माध्यमिक विद्यालयको पहलमा विद्यार्थीहरूबाट संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा प्रभावित परिवारलाई तत्काल राहत र उद्धारको आवश्यकता रहेको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीहरूले आफ्नो तर्फबाट सहयोग रकम संकलन गरेका हुन्।

सानो–सानो रकम संकलन गरी विद्यार्थीहरूले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने प्रयास गरेका हुन्। विद्यार्थीहरूमा मानवीय भावना, सामाजिक उत्तरदायित्व तथा विपद्का बेला एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने उद्देश्यले पनि सहयोग अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

विद्यालयले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोगमा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, विद्यार्थीहरूको यस कार्यले विपद्का बेला समाजमा सहयोग र सहकार्यको भावना अझ बलियो बनाउन प्रेरणा दिने विश्वास विद्यालयले व्यक्त गरेको छ।

विद्यार्थीहरूले गरेको यो सहयोग रकम आर्थिक रूपमा सामान्य देखिए पनि विपद्मा परेका नागरिकप्रतिको उनीहरूको मानवीय संवेदना र सामाजिक जिम्मेवारीको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ।