तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले व्यास नगरपालिका–१०, डिहिकुनाका तीन सामाजिक संस्थाले संयुक्त रूपमा रु. ६६ हजार ५१० आर्थिक सहयोग गरेका छन्।

डिहिकुनास्थित डिहिकुना टोल विकास संस्था, अनन्त व्यास आमा समूह र सिस्नु गैरा खानेपानी समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्।

सहयोगअन्तर्गत डिहिकुना टोल विकास संस्थाले रु. २० हजार, अनन्त व्यास आमा समूहले रु. २६ हजार ५१० र सिस्नु गैरा खानेपानी समितिले रु. २० हजार प्रदान गरेका छन्।

गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले रकम संकलन गरी सहयोग गरिएको अनन्त व्यास आमा समूहकी अध्यक्ष सीता पहारीले जानकारी दिनुभयो।

अध्यक्ष पहारीका अनुसार प्राकृतिक विपद्का कारण पीडामा रहेका परिवारको दुःखमा साथ दिन र राहत तथा उद्धार कार्यमा केही भए पनि सहयोग पुगोस् भन्ने भावनाले आमा समूहका आमा–दिदीबहिनीहरू मिलेर रकम जुटाएका हुन्।

उहाँले भन्नुभयो, “विपद्को समयमा पीडितको दुःखलाई आफ्नै दुःख सम्झेर सहयोग गर्नु मानवीय दायित्व हो। त्यसैले सबै मिलेर सकेको सहयोग गरेका हौँ।”

तीनवटै संस्थाले विपद्का बेला देखाएको सामूहिक ऐक्यबद्धताले स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना थप बलियो बनाएको छ। पीडितको राहत तथा पुनःस्थापनाका लागि राज्यसँगै समुदाय र विभिन्न संघसंस्थाको सहयोग आवश्यक रहेको उनीहरूले बताएका छन्।