तनहुँ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि व्यास नगरपालिका–२, उत्तरशिला टोल विकास संस्थाले रु. ६० हजार ९२५ आर्थिक सहयोग प्रदान गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको हो। विपद्को समयमा पीडित नागरिकको साथमा उभिनुपर्ने सामाजिक दायित्वलाई आत्मसात् गर्दै टोल विकास संस्थाले सहयोग रकम उपलब्ध गराएको जनाएको छ।
संस्थाका अध्यक्ष जुन कुमार श्रेष्ठ तथा पूर्वसचिव हरि कार्कीको पहल तथा संस्थासँग आबद्ध सदस्यहरूको सहभागितामा सहयोग रकम संकलन गरिएको बताइएको छ।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण प्रभावित परिवारको दैनिक जीवनमा कठिनाइ उत्पन्न भइरहेको अवस्थामा राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको संस्थाले जनाएको छ। मानवीय सेवाको भावनासहित गरिएको यस सहयोगले विपद्मा परेका परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।
उत्तरशिला टोल विकास संस्थाले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता जनाएको छ। संस्थाको यस सहयोगलाई स्थानीयस्तरमा विपद्का समयमा समुदायले देखाएको सामाजिक उत्तरदायित्व र मानवीय सहकार्यको उदाहरणका रूपमा लिइएको छ।
















