तनहुँ । भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भई विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि भानु नगरपालिका–१३, खड्कागाउँस्थित नमुना आमा समूहले रु. ११ हजार १ सय ११ सहयोग गरेको छ।
समूहमा आबद्ध आमा तथा दिदीबहिनीहरूको सामूहिक पहलमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहयोग गरिएको हो।
विपद्का कारण पीडित बनेका परिवारको राहत तथा उद्धारमा थोरै भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको समूहले जनाएको छ।
“सहयोग ठूलो वा सानो हुँदैन, विपद्मा एक–एक इँटा थपिँदै मानवताको बलियो घर बन्छ” भन्ने भावनासहित समूहले पीडित परिवारको दुःखमा साथ दिन यो योगदान गरेको हो।
नमुना आमा समूहले विपद्को समयमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्नेमा जोड दिँदै मानवीय सेवामा हातेमालो गर्न आह्वानसमेत गरेको छ।















