तनहुँ । भानु नगरपालिका–१२, घलेछापस्थित कालिका आमा समूहले बाढीपहिरो तथा विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि रु. २० हजार ५५ सहयोग गरेको छ।

समूहले विपद्मा परेका नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।

विपद्को दुःखद् घडीमा पीडित नागरिकको पीडामा साथ दिन र मानवीय सेवामा हातेमालो गर्न समूहले गरेको यो सहयोग उदाहरणीय बनेको छ। आर्थिक सहयोग रकम सानो भए पनि यसमा रहेको मानवीय भावना र सामाजिक उत्तरदायित्व ठूलो रहेको समूहले जनाएको छ।

कालिका आमा समूहको यो योगदानले विपद्को समयमा समुदायका अन्य व्यक्ति तथा संघसंस्थालाई समेत सहयोगका लागि प्रेरणा दिने विश्वास गरिएको छ।