तनहुँ । व्यास नगरपालिका–४ कृष्णपुरस्थित कृष्णपुर वीरता टोल विकास संस्था र कृष्णपुर आमा समूहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि रु. ५१ हजार सहयोग गरेका छन्।

रसुवा, भोटेकोशी र नुवाकोटलगायत क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले दुवै संस्थाले संयुक्त रूपमा उक्त रकम उपलब्ध गराएका हुन्।

भदौ १६ गते बसेको संयुक्त बैठकले सहयोग गर्ने निर्णय गरेपछि रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको थियो। सो रकम जम्मा गरेको बैंक भौचर भदौ १८ गते प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको हो।

विपद्को समयमा पीडित परिवारको साथमा उभिने उद्देश्यले गरिएको सहयोगले स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको संस्थाका प्रतिनिधिहरूले बताएका छन्।

संकटमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएकाले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने उनीहरूको भनाइ छ।