तनहुँ । ऋषिङ्ग गाउँपालिका–१ गैराखुदीस्थित श्री दीपक माध्यमिक विद्यालयका विद्यार्थीहरूले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु. ६ हजार ६६० सहयोग गरेका छन्।
विद्यालयका विद्यार्थीहरूले आफ्नो तर्फबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विपद्को समयमा पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले विद्यार्थीहरूले आफ्नो क्षमताअनुसार रकम संकलन गरी सहयोग गरेका हुन्।
विद्यालयका शिक्षक विवेक भट्टराईका अनुसार विद्यार्थीहरूले मानवीय भावनाका साथ स्वस्फूर्त रूपमा सहयोग रकम जुटाएका हुन्। सानो रकम भए पनि विपद्मा परेका नागरिकको पीडामा साथ दिनुपर्छ भन्ने भावना विद्यार्थीहरूमा देखिएको उनले बताए।
विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले विद्यार्थीहरूको यो सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको भावना अझ मजबुत बनाउने बताए। विद्यार्थी उमेरदेखि नै दुःखमा परेका नागरिकलाई सहयोग गर्ने संस्कारको विकास हुनु सकारात्मक पक्ष भएको उनको भनाइ छ।
रसुवालगायतका क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले विद्यालयका विद्यार्थीहरू मानवीय सेवामा सहभागी भएका हुन्। उनीहरूले गरेको रु. ६ हजार ६६० को सहयोगले बाढीपीडितको घाउमा मलम लगाउन केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।
विद्यालय परिवारले विपद्को समयमा सहयोगी भावना प्रदर्शन गर्दै मानवीय सेवामा सहभागी भएकोमा श्री दीपक माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै, विद्यार्थीहरूको यस कार्यले समाजमा सहयोग, सहकार्य र मानवीय संवेदनाको भावना थप विस्तार गर्न प्रेरणा मिल्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।















